
काठमाडौं, ९ वैशाख । स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव कम गर्न सरकारले ९७४ वटा ‘पुल दरबन्दी’ थप्ने तयारी अघि बढाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव तयार गरी अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको छ।
उक्त दरबन्दीअन्तर्गत विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मी समेटिनेछन्। यी जनशक्तिलाई आवश्यकता अनुसार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा परिचालन गर्ने योजना बनाइएको छ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रस्तावको प्रशासनिक र वित्तीय पक्षबारे दुवै मन्त्रालयबीच निरन्तर छलफल भइरहेको छ।
हाल ९७४ जनाको दरबन्दी थप्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ, तर पदअनुसारको विवरण भने सार्वजनिक गरिएको छैन।
स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति र उपलब्ध जनशक्तिबीच ठूलो अन्तर रहेको विज्ञहरूको भनाइ छ।
अहिले करिब ३२ हजार दरबन्दी रहेकोमा झण्डै ५ हजार पद रिक्त छन् । जसले सेवा प्रवाहमा गम्भीर असर पारेको देखिन्छ।
विगतमा पनि स्वास्थ्य मन्त्रालयले जनशक्ति विस्तारका प्रस्ताव अघि सारेको भए पनि अर्थ मन्त्रालयबाट स्वीकृति पाउन ढिलाइ हुँदै आएको अनुभव छ।
पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा प्रस्तुत गरिएको दीर्घकालीन जनशक्ति विस्तार योजना पनि कार्यान्वयनमा जान सकेको थिएन।
सरकारी विवरणअनुसार हाल देशभर करारसहित ३८ हजारभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन्।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम जनशक्ति रहेको देखिन्छ।
दरबन्दी स्वीकृत भए पनि धेरै स्थानमा पदपूर्ति हुन नसक्दा सेवा प्रभावित भइरहेको छ। डडेल्धुरा अस्पतालमा अधिकांश विशेषज्ञ पद रिक्त रहनु यसको उदाहरणका रूपमा उल्लेख गरिएको छ।
यस्तै, सुदूरपश्चिम र कर्णाली क्षेत्रमा विशेषज्ञ चिकित्सकको उपलब्धता पछिल्ला वर्षहरूमा झनै घटेको अध्ययनहरूले देखाएका छन्।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जनसंख्या अनुपातमा चिकित्सकको संख्या नेपालमा अत्यन्तै कम रहेको छ। सीमित जनशक्तिका कारण अस्पतालहरूमा बिरामीको चाप उच्च रहँदा उपचारमा ढिलाइ हुने समस्या देखिएको छ।

