शेयर कारोबार विवादपछि नैतिक आधारमा पदत्याग

काठमाडौँ, ९ वैशाख । गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिनुभएको छ।
विवादित व्यवसायी दीपक भट्टसँगको सेयर कारोबारमा आफ्नो नाम जोडिएको विषय सार्वजनिक भएपछि उहाँले नैतिकताको आधारमा पद त्याग गर्नुभएको हो।
मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै आफूविरुद्ध उठेका प्रश्न र सार्वजनिक चासोलाई ध्यानमा राख्दै पदबाट अलग हुने निर्णय गर्नुभएको छ।
उहाँले आफ्नो व्यक्तिगत तथा सार्वजनिक जीवन पारदर्शी र जवाफदेही बनाउन सधैं प्रतिबद्ध रहेको जनाउँदै छानबिन प्रक्रियामा सहयोग गर्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पार्नुभएको छ।
उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रधानमन्त्री, मन्त्रिपरिषद्का सहकर्मी, कर्मचारीतन्त्र तथा आम नागरिकप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि राष्ट्र र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले चैत १३ गते मन्त्रिपरिषद् गठन गर्दा सोही दिन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नियुक्तिको करिब एक महिनामै उहाँले राजीनामा दिनुभएको हो।
गुरुङको राजीनामापछि गृहमन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा औपचारिक निर्णय आउन बाँकी रहेको छ।

