
सांसदले कुन शीर्षकमा के कस्ता सुविधा पाउँछन् ? यसबारे बुझौंः
नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा सांसदको मासिक तलब व्यवस्था गरिएको छ । हाल सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ तलब पाउँछन् । यसबाहेक सांसदहरूले प्रति महिना विशेष भत्ता स्वरूप १ हजार रुपैयाँ पाउँछन् । त्यस्तै सञ्चार खर्च स्वरूप फोन, इन्टरनेट र पत्रपत्रिकाका लागि ३ हजार रुपैयाँ र पानी तथा विद्युत् खर्चका लागि २ हजार रुपैयाँ भत्ता उपलब्ध गराइन्छ ।
संसदीय बैठक वा संसदीय समितिको बैठकमा सहभागी भएबापत सांसदहरूले प्रति बैठक १ हजार रुपैयाँ बैठक भत्ता र आउजाउका लागि थप १ हजार रुपैयाँ सवारी साधनको भाडा (यात्रा भत्ता) पाउनेछन् ।
तलब, भत्ता र अन्य सुविधाहरू जोड्दा एक संघीय सांसदको मासिक आम्दानी औसतमा १ लाख रुपैयाँ भन्दा बढी पुग्छ । किनकी यदि महिनामा १५ दिन संसद चलेमा ४५ हजार रुपैयाँसम्म प्राप्त हुन्छ ।
त्यसमा थप काठमाडौं उपत्यकामा आफ्नै घर नभएका सांसदहरूलाई मासिक १८ हजार रुपैयाँ घरभाडा भत्ता दिइन्छ । काठमाडौंमा घर भएका सांसदहरूले मर्मत सम्भारका लागि मासिक ९ हजार रुपैयाँ पाउँछन् । सांसद निर्वाचित भएपछि एकपटकका लागि फर्निचर खरिद गर्न १५ हजार रुपैयाँ भत्ता पनि पाउँछन् ।
यसका साथै आधिकारिक कामका लागि देशभित्र भ्रमण गर्दा दैनिक २ हजार ५ सय रुपैयाँ भत्ता दिइन्छ भने विदेश भ्रमणका क्रममा सांसदहरूले प्रतिदिन २२५ अमेरिकी डलर पाउँछन् । सांसदले पाउने विदेश भ्रमण भत्ता भने सभामुखको निर्णय पश्चात मात्र हुन्छ । भ्रमणका बेला प्रति भ्रमण १० लाख रूपैयाँको यात्रा बिमाको पनि व्यवस्था छ ।
सांसदहरूलाई औपचारिक विदेश भ्रमणका लागि कूटनीतिक राहदानी (रातो पासपोर्ट) उपलब्ध गराइन्छ, जसले अध्यागमनमा बिना झन्झट यात्रा गर्न सहज तुल्याउँछ ।
स्वास्थ्य सेवाअन्तर्गत सरकारी तथा निजी अस्पतालमा उपचारका लागि परामर्श शुल्क तथा अस्पताल खर्चमा समेत सहुलियत उपलब्ध हुने व्यवस्था छ । यदि कुनै सांसदको कार्यकालको समयमा मृत्यु भएमा परिवारलाई २० लाख आर्थिक सहायता र अपाङ्गता भएका सांसदलाई एकमुष्ट ५० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिने ऐनमा उल्लेख छ ।
यसैगरी सांसदले पेश्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा तीन महिनासम्मको लिन सक्छन् । विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधिसभा सदस्यलाई सभामुखको र राष्ट्रिय सभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा एक वर्षसम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था छ ।
यसबाहेक निर्वाचित भएर पहिलो पटक काठमाडौं आउने सांसदले आउँदा लाग्ने हवाई जहाज वा बसको टिकट खर्च पाउँछन्, जसका लागि संसद सचिवालयमा टिकट बुझाउनुपर्ने हुन्छ । काठमाडौं आउँदा बाटोमा हुने खाना–खाजा खर्चका लागि प्रतिदिन २५ सय रुपैयाँका दरले साढे २ दिनको कुल ६ हजार २५० रुपैयाँ सांसदले पाउँछन् ।

