चलचित्र विकास बोर्डले नेपालभर प्रदर्शनरत चलचित्रहरूको बक्स अफिसको आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छ। बोर्डअन्तर्गतको ‘सिनेपा: २ बक्स अफिस’ प्रणालीमार्फत सार्वजनिक गरिएको तथ्याङ्कअनुसार हाल प्रदर्शनमा रहेका दुई नेपाली चलचित्र ‘रामनाम सत्य’ र ‘पहाड’ को कारोबार विवरण सार्वजनिक गरिएको हो।
वैशाख ६ गतेदेखि १२ गते मध्यरातसम्मको तथ्याङ्क हेर्दा चलचित्र ‘रामनाम सत्य’ ले नेपाली बक्स अफिसमा उत्कृष्ट व्यापार गर्दै प्रतिस्पर्धी चलचित्र ‘पहाड’ लाई उल्लेख्य अन्तरले पछि पारेको छ।
उपलब्ध विवरणअनुसार ‘रामनाम सत्य’ ले हालसम्म १ लाख १७ हजार ५ सय ६४ टिकट बिक्री गर्दै ३ करोड ३१ लाख ५८ हजार ८ सय २१ रुपैयाँ आम्दानी गरेको छ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको चलचित्र ‘पहाड’ ले १९ हजार ५ सय ३९ टिकट बिक्री गर्दै ६१ लाख ७७ हजार २ सय ६२ रुपैयाँ संकलन गरेको छ।
यस तथ्याङ्कले हालको नेपाली चलचित्र बजारमा ‘रामनाम सत्य’ को स्पष्ट वर्चस्व देखिएको छ भने ‘पहाड’ ले अपेक्षाकृत रूपमा कमजोर व्यापार गरिरहेको देखिन्छ।

