नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले प्रधानमन्त्री बालेन शाहको नेतृत्व र नेपालको फेरिएको राजनीतिक परिदृश्यबारे अन्तर्राष्ट्रिय बहस गर्ने भएको छ ।
संस्थाले भोलि अप्रिल २९ (बुधवार) दिउँसो २ बजेदेखि साढे ४ बजेसम्म ‘नेपालमा बालेनको नेतृत्वलाई विश्वले कसरी हेर्छ ?’ शीर्षकमा अन्तर्राष्ट्रिय वेबिनार आयोजना गर्न लागेको हो ।उक्त वेबिनारमा नेपालसहित २५ देशका २६ जना कूटनीतिज्ञ, नीति निर्माता तथा विद्वानहरूको सहभागिता रहने संस्थाले जनाएको छ । फागुनको निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतसहित गठन भएको बालेन शाह नेतृत्वको सरकार र यसमा देखिएको ‘जेनेरेशन–जेड’ को प्रभावबारे अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

हाल स्थापनाको १०औँ वर्ष मनाइरहेको एनआईआईसीई नेपालमा आणविक अप्रसारका क्षेत्रमा कार्य गर्ने एक मात्र थिंक–ट्याङ्क हो । संस्थाले यसअघि ग्लोबल कन्क्लेभ र इन्डो–प्यासिफिक फ्युचर फोरम जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमहरू समेत सम्पन्न गरिसकेको छ ।

