
१९६० को दशकमा सिंगापुरमा ठुलो संख्यामा सुकुम्वासीहरू थिए। सरकारले ‘Housing and Development Board’ (HDB) मार्फत ठूला अपार्टमेन्टहरू बनाएर उनीहरूलाई सस्तो दरमा उपलब्ध गरायो। आज सिंगापुरमा लगभग सबै नागरिकको आफ्नै घर छ।
सिंगापुरले सुकुम्वासी हटाउने होइन, उनीहरूलाई आधुनिक नागरिक बनाउने नारासहित सुकम्बासी समस्या समाधानको रणनीति अपनायो र आज सिंगापुरको ‘Housing and Development Board’ (HDB) मोडललाई विश्वकै सबैभन्दा सफल सार्वजनिक आवास कार्यक्रम मानिन्छ। । प्रधानमन्त्री बालेन शाहले यही मोडलको सिको गर्ने प्रयास गरिरहेको देखिन्छ ।
सन् १९६० मा सिंगापुर स्वतन्त्र हुनुअघि त्यहाँको ठूलो जनसंख्या अव्यवस्थित बस्ती र सुकुम्वासीको रूपमा बस्न बाध्य थियो। तर, आज ८०% भन्दा बढी सिंगापुरवासीहरू सरकारी ज्म्द्य फ्ल्याटमा बस्छन् र तीमध्ये ९०% भन्दा बढीको आफ्नै स्वामित्व छ।
सिंगापुरले अपनाएको सुकुम्वासी व्यवस्थापनका ५ पक्ष
१. स्पष्ट दृष्टिकोण र कानुनी आधार
सन् १९६६ मा सिंगापुरले ‘Land Acquisition Act’ ल्यायो, जसले सरकारलाई विकासका लागि सस्तो दरमा निजी वा अतिक्रमित जग्गा अधिग्रहण गर्ने असीमित अधिकार दियो ।
सरकारले सुकुम्वासी बस्ती भएका जग्गाहरू खाली गराई त्यहाँ ठूला ठूला ‘हाइराइज’ (High-rise) भवनहरू बनाउने नीति लियो।
२.सस्तो र गुणस्तरीय आवास
सरकारले सुकुम्वासीलाई केवल जग्गा मात्र दिएन, बरु पूर्ण रूपमा सुविधायुक्त आधुनिक अपार्टमेन्ट बनाइदियो।
अनुदान: न्यून आय भएका परिवारका लागि सरकारले ठूलो अनुदान दिने गर्छ ताकि उनीहरूले बजार मूल्यभन्दा निकै सस्तोमा घर किन्न सकून्।
किस्ता सुविधा: घर किन्नका लागि थोरै ब्याजदरमा २५,३० वर्षसम्मको लामो किस्ता सुविधा उपलब्ध गराइयो।
३. सेन्ट्रल प्रोभिडेन्ट फण्ड (CPF) सँगको आबद्धता
सिंगापुरको सफलताको सबैभन्दा ठूलो कडी (CPF) (एक प्रकारको कर्मचारी सञ्चय कोष) हो। हरेक नागरिकले आफ्नो कमाइको केही हिस्सा यो कोषमा अनिवार्य जम्मा गर्नुपर्छ।
सरकारले नियम बनायो कि नागरिकले आफ्नो कोषमा जम्मा भएको रकम फ्ल्याटको किस्ता तिर्न प्रयोग गर्न पाउनेछन्। यसले गर्दा सुकुम्वासी वा न्यून आय भएकाहरूलाई थप आर्थिक भार परेन।
४. सामाजिक सद्भाव र जातीय कोटा (Ethnic Integration Policy)
सिंगापुरले सुकुम्वासी व्यवस्थापन गर्दा एउटा अर्को अनौठो प्रयोग गर्यो।एउटा विशेष जात वा समुदायका मानिस मात्र एकै ठाउँमा नबसून् भनेर हरेक ब्लकमा चिनियाँ, मलय र भारतीय मूलका मानिसहरूको निश्चित कोटा तोकियो।
यसले गर्दा सुकुम्वासी बस्तीमा हुने सामाजिक विभेद अन्त्य भयो र राष्ट्रिय एकता बलियो बन्यो।
५.‘Self-Sufficient’ टाउनशिप मोडल
ब्लकहरू केवल बस्ने ठाउँ मात्र होइनन्। सरकारले हरेक ब्लकको वरिपरि निम्न सुविधाहरू अनिवार्य गरेको छ:
तल्लो तलामा पसल र बजार: रोजगारी र दैनिक उपभोग्य वस्तुका लागि। नजिकै विद्यालय र अस्पताल: शिक्षा र स्वास्थ्यको पहुँचका लागि।उत्कृष्ट यातायात: मेट्रो र बस सेवाको सीधा पहुँच।
नेपालले सिंगापुर मोडलबाट के सिक्न सक्छ ?
ठाडो विस्तार (Vertical Expansion): नेपालका सहरहरूमा जग्गाको अभाव छ। सिंगापुरले जस्तै सानो जग्गामा धेरै परिवार हटाउने गरी अग्ला भवनहरू बनाउनु नै सहरी सुकुम्वासी व्यवस्थापनको उत्तम विकल्प हुन सक्छ।
अनिवार्य बचत र आवास कोष: नागरिकको सानो सानो बचतलाई आवाससँग जोड्ने संयन्त्र (जस्तै कर्मचारी सञ्चय कोष वा नागरिक लगानी कोष जस्तै मोडेल) बनाउनु पर्छ।
जग्गाको स्वामित्व सरकारसँग: सिंगापुरमा धेरैजसो जग्गा ९९ वर्षको भाडामा दिइन्छ। यसले गर्दा जग्गाको अन्तिम अधिकार सरकारसँगै रहन्छ र जग्गाको अनियन्त्रित किनबेच वा प्लटिङ रोकिन्छ।
सिंगापुर मोडलको सिको गर्दै सुकम्बासी समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रयास सफल होला कि यो समस्या झन बल्झिएला ? त्यो भने केही महिना वा वर्षपछि स्पष्ट हुनेछ ।

