
सेयर बजारलाई अति संवेदनशील क्षेत्र मानिन्छ। यो नेपालमा मात्रै होइन विश्वभरि नै संवेदनशील हो।
विश्वमा विकसित बजारमा आर्थिक गतिविधि र सरकारी निर्णयहरुले सेयर बजारलाई कति प्रभावित गर्छन् भन्ने विश्लेषण भएपछि मात्रै बजार घटबढ हुन्छ। तर नेपालमा भने हल्लैहल्लाको भरमा बजार प्रभावित हुँदै आएको छ। पछिल्ला दुई कारोबार दिनको गतिविधिले पनि यो प्रष्ट हुन्छ। पछिल्ला केही दिनदेखि दिशाहिन अवस्थामा रहेको सेयर बजार बुधबार घट्दो क्रममा रहेको थियो। दिउँसो साढे २ बजेसम्म ३२ अंकले घटेको बजार गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिनेबित्तिकै ९० डिग्रीमा उकालो लागेको थियो। सेयर बजारसँग कुनै सम्बन्ध नै नराख्ने मन्त्रालयका मन्त्रीको राजीनामासँग सेयर बजारको के सम्बन्ध थियो त ? विश्वका अन्य देशमा यस्तो घटना हुन्थ्यो भने बजारलाई कुनै पनि प्रभाव गर्ने थिएन। तर नेपालमा ठूलो अंकले घट्न थालेको बजार पुनः उकालो लाग्यो, जसकारण लगानीकर्ताको ठूलो नोक्सानी जोगियो।
बुधबारका कारण आज बिहीबार पनि बजार खुलेपछि विस्तारै आफ्नो लय समात्दै उकालो लागेको थियो। बजार खुलेको ३ मिनेटमै १० अंकले बढेको बजार नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ भन्ने गलत समाचार बाहिरिने वित्तिकै पुनः ओरालो लाग्दै झण्डै ३५ अंकले घटेर १७८१ को विन्दुमा आयो।
केही समयमै गोल्छा पक्राउ नपरेको र नक्सालस्थित आफ्नो कार्यालयमै रहेको भन्ने अर्को समाचार आएपछि बजार पुनः उकालो लाग्यो। ठूलो औद्योगिक घरानीया र उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत भइसकेका कारण सेयर बजारमा शेखर गोल्छाको ठूलो लगानी होला। तर के ४५ खर्बको बजार एक्लै शेखर गोल्छाले धानेका छन् त ?
सेयर बजारका लगानीकर्ताहरु प्रविधिले सेयर बजारलाई केही निश्चित व्यक्तिको हातबाट आम लगानीकर्ताको हातसम्म पुर्याएको दाबी गर्छन्। तर जुन प्रकारले एक जना व्यक्ति पक्राउ पर्दा वा छुट्दा बजारमा उदारचढाव देखिन्छ, त्यसले बजार वास्तविकतामा भन्दा हल्लाको पछि कुदेको प्रस्टै देखिन्छ।
केही समयअघि सेयर बजारका खेलाडी भनिने दीपेन्द्र अग्रवाल पक्राउ पर्दा पनि बजारमा ठूलै पहिरो गएको थियो।
बिहीबार शेखर गोल्छा पक्राउको समाचार आएपछि बजारमा पहिरो जाँदा लगानीकर्ता ताराप्रसाद फुल्लेले लगानीकर्ता भ्रामक समाचारको शिकार बनेको बताएका छन्। उनले सामाजिक सञ्जालमा एक घण्टाको फरकमा आएका शेखर गोल्छा पक्राउ र शेखर गोल्छा पक्राउ ननपरेको दुई वटा समाचारले लगानीकर्ता भ्रामक समाचारको सिकार बनेको बताए।
अर्का लगानीकर्ता सुन्दर न्यौपानेले मिडिया ट्रायलका कारण नेप्सेमा ठूलो स्क्याम भएको बताए।
बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपालको पुँजी बजार झन् अनिश्चित जस्तै भएको छ। अन्तर्राष्ट्रिय अर्थशास्त्रीको हैसियत भएका स्वर्णीम वाग्ले अर्थमन्त्री भएपछि बजारले गति लिने अपेक्षा गरिए पनि पक्राउ, धरपकड, अनुसन्धान जस्ता घटनाले बजार कहिले बढ्ने त कहिले घट्ने भइरहेको छ।
बालेनको नेतृत्वमा रास्वपाको बलियो सरकार भन्ने भएपछि बजार २६ सय अंकबाट लगातार बढेर २९ सय पुगेको थियो। तर त्यसपछिका अनेक फण्डाले बजार कहिले बढ्ने कहिले घट्ने भइरहेको छ।
दुई हप्ताअघिसम्म सरकारले सेयर बजारमा भएको लगानीको समेत स्रोत खोजी गर्ने भनेपछि बजार घट्दै गएको थियो। तर अर्थमन्त्री वाग्लेले सेयर बजारमा बैंकिङ च्यानलबाट लगानी भएको हुने हुँदा त्यसलाई वैध मान्ने भनेपछि बजार पुनः उकालो लागेको थियो।

