
हामीलाई कुनै खाना मन परेन भने स्वादिलो बनाउन विभिन्न परिकार थप्छौँ वा भोक जगाउने गरी पस्किन्छौँ। मिठा परिकार पाइने ठाउँ खोजी-खोजी पुग्छौँ। अभिभावकको यस्तै सक्रियताले बालबालिकामा पनि खानपानप्रति रुचि रबानीको विकास हुन्छ। कुनै पनि कुरा ग्रहण गर्नुअघि त्यसलाई आँखा (मस्तिष्क) ले स्वीकार गर्नुपर्छ, अनि मात्र अन्य प्रक्रिया अघि बढ्छन्।
खानपान जस्तै पढ्ने र लेख्ने पनि एउटा बानी हो। त्यसैले बालबालिकालाई पढाउनुअघि उनीहरूमा पढ्ने बानीको विकास गराउनु अपरिहार्य छ। तर विडम्बना! एकजना अभिभावकले विद्यालयले पाठ्यक्रम बाहिरका थप दुई वटा पुस्तक किन्न लगाउँदा ठुलै विरोध गर्नुभयो। उहाँको तर्क थियो— ‘पाठ्यपुस्तकै पढेको छैन, अरू किन किन्नु?’ यो धेरै अभिभावकको साझा धारणा हो।
हामी ‘मैले आफ्नो पालामा यसो गरेको थिएँ’ भन्दै विगतकै रटान लगाइरहेका छौँ तर संसार ‘एआई’ को युगमा पुगिसक्यो। जबसम्म अभिभावकले आफ्नो पुरातन सोच बदल्नुहुन्न, तबसम्म बालबालिकाको सिकाइमा तात्त्विक परिवर्तन आउने छैन।
बालबालिकामा पढ्ने बानीको विकास कसरी गर्ने? यहाँ केही उपायहरू प्रस्तुत छन्:
१. ‘सकिन्छ’ भन्ने आत्मविश्वासको बीजारोपण
अभिभावक, शिक्षक र विद्यालय प्रशासनले एकापसमा गुनासो पोख्नुभन्दा रचनात्मक छलफलमा जोड दिनुपर्छ। एउटा प्रसङ्ग जोडौँ— लामो खडेरी परेपछि गाउँलेहरू पानी माग्न यज्ञ गर्न हिँडेछन्। एक बालक भने छाता बोकेर हिँडेको देख्दा गाउँले चकित परे। बालकले भने— ‘हामी प्रार्थना गर्न हिँडेका हौँ, प्रार्थना गरेपछि त पानी पर्छ नि!’ कथाको सार यो हो कि विश्वासविनाको कार्यको अर्थ छैन। हामीले पनि बालबालिकाले गर्न सक्छन् भन्ने विश्वास राखेर अघि बढ्नुपर्छ।
२. पुस्तकालय भ्रमण र पठन-मैत्री वातावरण
बिरालोलाई मुसा मार्न तालिम चाहिँदैन तर समय अगावै जबरजस्ती गरेमा ऊ मुसा देख्दा भाग्न सक्छ। बालबालिकालाई पनि उनीहरूको रुचिअनुसारका पुस्तक छान्न दिनुपर्छ। घर र विद्यालयमा पुस्तकका बारेमा छलफल गर्ने, बिदाको दिन पुस्तकालय वा पुस्तक पसल लैजाने र मुख्य कुरा, आफू पनि पुस्तक पढ्ने गर्नुपर्छ। बालबालिकाले उपदेशभन्दा बढी ठुलाको व्यवहारबाट सिक्छन्।
२. पुस्तकालय भ्रमण र पठन-मैत्री वातावरण
बिरालोलाई मुसा मार्न तालिम चाहिँदैन तर समय अगावै जबरजस्ती गरेमा ऊ मुसा देख्दा भाग्न सक्छ। बालबालिकालाई पनि उनीहरूको रुचिअनुसारका पुस्तक छान्न दिनुपर्छ। घर र विद्यालयमा पुस्तकका बारेमा छलफल गर्ने, बिदाको दिन पुस्तकालय वा पुस्तक पसल लैजाने र मुख्य कुरा, आफू पनि पुस्तक पढ्ने गर्नुपर्छ। बालबालिकाले उपदेशभन्दा बढी ठुलाको व्यवहारबाट सिक्छन्।
३. रुचि र उमेर समूहअनुसार पुस्तक छनोट
प्रत्येक बालकको रुचि फरक हुन्छ। पुस्तक छनोट गर्दा उमेर, विषयवस्तु, पात्र र लेखन शैलीलाई ध्यान दिनुपर्छ। यसका लागि विज्ञहरूसँग सल्लाह लिन सकिन्छ। जब विषयवस्तुप्रति रुचि जाग्छ, पढ्ने प्रक्रिया स्वतः अघि बढ्छ।
४. व्यवहार र शैलीमा परिवर्तन
बालबालिका हाम्रा प्रतिबिम्ब हुन्। यदि हामी दिनभर मोबाइलमा व्यस्त रहने तर उनीहरूलाई ‘पढ’ भनेर उपदेश दिने गर्छौँ भने त्यसको कुनै अर्थ रहँदैन। घर र विद्यालयमा हामीले पनि पुस्तक पढ्ने र त्यसबारे चर्चा गर्ने गर्दा बालबालिकामा पुस्तकप्रति विश्वास र मोह जाग्दछ।
५. निश्चित समय निर्धारण
बानी बसाल्न सुरुमा निश्चित समय तय गर्नु प्रभावकारी हुन्छ। विद्यालयमा ‘डिइएआर’ (ड्रप एभ्रिथिङ एन्८ रिड) अर्थात् ‘सबै काम छाडेर पढौँ’ भन्ने अभियान चलाएर दैनिक १०-२० मिनेट पढ्ने अभ्यास गराउन सकिन्छ। घरमा पनि परिवारका सबै सदस्य बसेर सामूहिक रूपमा पढ्ने समय तोक्नुपर्छ।
६. पुस्तकका बारेमा चर्चा-परिचर्चा
जसरी पहिलेका बुढापाकाले कथा वा गाउँखाने कथा सुनाएर रुचि जगाउँथे, त्यसरी नै अहिले पुस्तकका पात्र र विषयवस्तुबारे घर-विद्यालयमा कुराकानी गर्नुपर्छ। यसो गर्दा बालबालिकालाई ‘पुस्तक पनि संवादको एउटा रोचक विषय हो’ भन्ने लाग्छ।
७. उपहारमा पुस्तक दिने संस्कृति
जन्मदिन वा अन्य उत्सवमा चकलेट वा खेलौनाको सट्टा पुस्तक उपहार दिने बानी बसालौँ। विद्यालयमा पुस्तकालयलाई व्यवस्थित बनाउने र घरमा पनि सानो कुनालाई ‘पढ्ने कुना’ का रूपमा विकास गर्दा पढ्ने वातावरण निर्माण हुन्छ।
८. बुझ्ने शैलीको विकास (घोक्ने प्रथाको अन्त्य)
पाठ्यपुस्तकका अक्षरहरू हुबहु घोकाउँदा बालबालिकामा वितृष्णा जाग्छ। विषयवस्तुलाई बुझ्ने र आफ्नै शैलीमा व्यक्त गर्ने क्षमताको विकास गराउनु विद्यालयको मुख्य दायित्व हो। हाम्रो परीक्षा प्रणालीले गर्दा पनि विद्यार्थीहरू सृजनशीलताभन्दा बढी अङ्कको पछि दौडिरहेका छन्, यसलाई बदल्न जरुरी छ।
९. पुस्तकका फाइदा र ‘रोल मोडेल’को चर्चा
समाजका सफल व्यक्तिहरूको जीवनमा पुस्तकको कस्तो भूमिका रह्यो भन्नेबारे चर्चा गर्नुपर्छ। पुस्तकले भाषागत शुद्धता मात्र होइन, तार्किक क्षमता र गणितीय समस्या समाधानमा समेत कसरी सहयोग गर्छ भन्ने कुरा उनीहरूलाई बुझाउनुपर्छ
१०. पात्रहरूको अभिनय
विद्यालयमा कथा वा पुस्तकका पात्रहरू जस्तै बनेर संवाद गर्ने वा नाटक देखाउने अभ्यास गराउँदा सिकाइ व्यवहारिक र रोचक हुन्छ। यसले भाषाको स्तर पनि सुधार्छ।
११. विद्यालय र घरबिचको तादात्म्य
बालबालिकाको सिकाइका लागि घर र विद्यालयको ‘रोडम्याप’ एउटै हुनुपर्छ। यदि दुईबिच समन्वय भएन भने बालबालिका दोधारमा पर्छन्। त्यसैले अभिभावक र शिक्षकबिच निरन्तर संवाद आवश्यक छ।
१२. सृजनशीलतालाई प्राथमिकता
अङ्क (ग्रेड) लाई भन्दा बालबालिकाको खोज र सृजनशीलतालाई प्राथमिकता दिने र प्रशंसा गर्ने गर्नुपर्छ। उनीहरूको सिर्जनाका पछाडि पुस्तकको कस्तो भूमिका रह्यो भन्नेबारे सधैँ चर्चा गरौँ।
निष्कर्ष
बालबालिकाको पहिलो पाठशाला ‘घर’ र दोस्रो ‘विद्यालय’ हो। यी दुवै स्थानमा पूर्वाधारको विकास, सरोकारवालाबिच संवाद, लेखकहरूसँगको अन्तर्क्रिया र विद्यालय नेतृत्वको अग्रसरता हुने हो भने बालबालिकामा पढ्ने बानीको विकास हुनुका साथै उनीहरूको भविष्य उज्ज्वल रहनेमा कुनै दुबिधा छैन।

